मोतीराम भट्ट

मोतीराम भट्ट (१९२३ भदौ २५ - १९५३) (English: Motiram Bhatta) नेपाली साहित्यका एक अमूल्य व्यक्ति थिए। नेपालको साहित्यको इतिहासमा भानुभक्त आचार्य पछि सबैभन्दा महत्वपुर्ण व्यक्ति मोतीराम भट्टलाई मानिन्छ। उनले नेपालीमा गजल विधाको सुरुवात गरेका थिए। १९४८मा भानुभक्तको जीवनी लेखेर उनी नेपालको पहिलो जीवनीकारका रूपमा प्रस्तुत भए। उनले नेपाली भाषा साहित्यमा समालोचनाको पनि सुरु गरेका थिए।

जीवनी

मोतीराम भट्टको जन्म वि.सं. १९२३ साल भदौ २५ गते,शनिवार, कुशेऔँसीका दिन काठमाडौंको भोसिको टोलमा भएको थियो। .उनको बुबाको नाम दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी थियो। मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको भनेर मानिन्छ। उनी माइला पुत्र थिए। प्रथम पुत्र जन्मना साथ दिवङ्गत भएकोले, मोतीराम भट्टलाई दीर्घजीवी राख्न उनका माता पिताले उनको नाकको दाहिनेमा पोरो छेडी दिएका थिए। ५ वर्षको उमेरदेखि उनले शिक्षा आरम्भ गरेका थिए। त्यस बेला उनका बुवा-आमा त्यही बस्ने गरेकोले, ६ वर्षको उमेरमा उनी आमा सङ्ग काशी पुगेका थिए। काशीमा नै उनले स्कूलमा फारसी र उर्दू पढ्न थाले। बिस्तारै उनले संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले। बनारसको हरिश्चन्द्र विद्यालयमा उनले अङ्ग्रेजी भाषा साहित्यको अध्ययन गरेका थिए। पढ्दा पढ्दै आठ वर्षको उमेरमा बनारसमा नै उनको व्रतबन्ध गरिएको थियो। बनारस बस्दा प्रसिद्ध सितार वादक पन्नालालबाट उनले सितार बजाउन र गीत गाउन सिकेका थिए। बनारसमा उनले चार सय जति शायरीहरू लेखिसकेको थिए। करिब आठ वर्ष बनारस बसि १९३७ सालमा पुनः काठमाडौं फर्किए र त्यसै वर्ष १५ वर्षको उमेरमा उनले बिहे गरे र केही समय काठमाडौंमा नै बसे। बनारसमा बस्ता शायरीहरू लेखिसकेको भएपनि उनले नेपाली गीत, कविता र गजल लेखेका थपिएनन्। काठमाडौंमा हुँदा, एक दिन समारोहमा दोहरी गीत सुने र त्यसबाट निकै नै प्रभावित भए। केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी सामेल हुदां, भानुभक्त आचार्यका श्लोकहरू सुने। उनी त्यसबाट निकै नै प्रभावित भइ भानुभक्त आचार्यका कृतिहरू खोजी गर्ने अठोट गरे। केही महिना काठमाडौंमा बसेर सपत्नी १९३८को पुसमा काशी फर्किए। काशी पुगेर उनले 'भारत जीवन' भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण ‘गोरखा भारत जीवन’ प्रकाशन गरेका थिए। त्यही छापाखानाबाट नेपाली भाषाका पुस्तकहरू छाप्न थाले। त्यसै समयमा केही साथीहरू मिलेर उनले एउटा मित्र-मण्डलीको गठन गरे र कविता र गजल-लेखनको अभियान चलाए। बनारसमा उनलाई पद्मविलास पन्त, काशीनाथ, रनाथ, तेजसिंह र तेजबहादुर रानाले सघाएका थिए। त्यहीँ हुँदा भानुभक्तको रामायणको बाला खण्ड प्रकाशित पनि गरेका थिए। लगभग ७ वर्ष पछि १९४५मा उनी नेपाल फर्किए। आफ्ना मामा नरहरि पाण्डे र कृष्णदेव पाण्डे सङ्ग मिलेर काठमाडौंको थहिटीमा मोतीकृष्ण धीरेन्द्र कम्पनी सुरु गरे। र सोही समयमा एउटा पुस्तकालय पनि स्थापना गरेका थिए। त्यस ताका राणाको समय भएकोले पुस्तकालय खोल्नु एउटा ठूलो घटना नै मान्नु पर्छ। तिनिहरूले पछि पशुपति प्रेस पनि खोलेका थिए। नरदेव पाण्डे, लक्ष्मी दत्त पन्त गोपी नाथ लोहनी र अरू साथी मिली मित्र मण्डलको पनि स्थापना गरेका थिए। उनीहरू नेपाली कविता र गीतहरू लेख्ने गर्थे। त्यसै बखतमा, मोतीरामले दरबार हाइ स्कूलमा पनि पढेका थिए। चन्द्र शमशेर र देव शम्शेर जस्ता प्रभावशाली व्यक्ति उनका सहपाठी थिए। दरबार हाई स्कूलमा अध्ययन गर्दा उनको नाम चल्न लागेको थियो। १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइ-स्कूलको निरीक्षणमा गएका बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट हो भनेर चन्द्रशमशेरले परिचय गराएका थिए। ती बेलाईतीले पुरस्कार स्वरूप भट्टलाई पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए। दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए। १९५० सालमा कलकत्तामा गएर एए.आईए परीक्षामा सम्मिलित भएपनि अनुत्तीर्ण भएका थिए। १९५२मा फेरी परीक्षा दिन कलकत्ता जाँदा उनी त्यहीँ बिरामी भए। केही समयपछि उनी बिरामी अवस्थामा नै काठमाडौं आए। सात महिना पछि एकतीस वर्षको उमेरमा, १९५३ सालमा काठमाडौं पशुपति आर्य घाटमा उनको मृत्यु भयो। उनको मृत्यु हुँदा उनकी बहिनी मात्र जीवित थिए। मोतीराम भट्टको मृत्यु हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए। जीवनको अन्तिम समयमा मोतीराम भट्टले आफ्नी आमा र बहिनी समक्ष भनेको कुरा पं. नरदेव पाण्डेले लेखेका यसरी लेखेका छन्- “अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन। हजुरले पैदा गरी बक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजुरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनमै मात्र रहयो। मेरा सन्तान भएनन् भन्ने हजुरलाई ठूलो अपसोच थियो। यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लाद भक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिननै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला।“ मृत्यु पछि उनका आमा रिपुमर्दिनीको मनमा अब कुनै पुत्र न रहेकोले आफ्नो भट्टकुलको वंश नै नास हुन लाग्यो भन्ने भावनाको परिणाम स्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् १९५५मा काशीबाट काठमाडौं झिकाइ दयाराम भट्टको अर्को विवाह गरि दिइन्। बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी फर्किए र १९५९को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ रामेश्वर भट्ट राखियो। छोरो जन्मेको ६ महिनापछि दयाराम भट्टको पनि मृत्यु भयो। दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दनीको संरक्षणमा रहे। केही समयपछि दयाकुमारी भट्टको पनि मृत्यु भयो, त्यसपछि रिपुमर्दिनी भट्टका साथमा एउटा छोरी र एउटा छोरा मात्र रहयो।

मोतीरामको साहित्य मन्थन

मोतीराम एक जीवनीकार, समालोचक तथा अन्वेषक

मोतीराम भट्ट नेपाली साहित्यको क्षेत्रमा पहिलो जीवनी लेखक हुन्। उनले १९४८ सालमा भानुभक्त आचार्यको जीवनी समालोचनात्मक रूपमा लेखेका थिए। खालि भानुभक्त आचार्यको जीवनीमात्र प्रस्तुत नगरी आचार्य का कवित्वशक्तिको समालोचना गरेका थिए। त्यसै कृतिमा मोतीरामले भानुभक्तलाई आदर स्वरूप आदिकविको सङ्ज्ञा दिएका थिए। हुन त भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू थिए, तर कविताको मर्म बुझेर लेख्ने पहिलो कवि भानुभक्त भएको हुँदा भानुभक्त नै आदिकवि हुन् भन्ने उनको तर्क थियो। उनी भानुभक्तलाई कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन् भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन्। मोतीराम भट्ट एक अन्वेषक पनि हुन्। उनले नै भानुभक्तको बालकाण्ड रामायण फेला पारेका थिए। १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे र भानुभक्तको जीवनको खोजीनिती, पाण्डुलिपिको खोज र समालोचना गरे। भानुभक्तका वधूशिक्षा,भक्तमाला’,प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा उनले नै ल्याएका थिए। भानुभक्तका अतिरिक्त, बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको खोज सबैमाझ पुर्‍याएका थिए।

मोतीराम गायक, कवि र गजलकार

मोतीराम भट्ट विशेषतः श्रृङारवादी साहित्यकार थिए। भानुभक्तबाट प्रभावित भएर उनले राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखेका थिए। ‘पिकदूत’ श्रृङ्गाररसले भरिएको काव्य हो। उनले नेपाली भाषामा गजल भित्राएका थिए। उनको गजल लेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भएर उनीहरू पनि गजल लेख्न थालेका थिए। उनकै बाटो पछ्याउदै शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली गजल हरू लेखेका थिए।

मोतीराम एक सङ्गठन कर्ता र शिक्षक

मोतीरामले काठमाडौं तथा बनारसमा मित्र-मण्डलीको स्थापना गरेका थिए। यस बाट उनीमा व्यक्तिहरूलाई प्रभावमा राख्न सक्ने क्षमता रहेको देखिन्छ। बनारसमा बसेको आफ्ना मित्रहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई पनि कविता लेख्न निपूर्ण बनाए। काठमाडौंमा पनि राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई पनि सङ्गठनात्मक रूपमा कविको रूपमा विकसित गर्ने वातावरण जुटाए।

मोतीराम एक गायक, नाटककार तथा निर्देशक

मोतीराम गायक पनि थिए। उनले आफ्नो गजल दरबारमा गाएर पनि प्रस्तुत गर्न गर्थे। मोतीराम भट्टले नेपाली भाषामा तीनवटा नाटक लेखेका थिए। ती ‘शकुन्तला’, ‘प्रियदर्शिका’ र ‘पद्मावती’ हुन्। उनले उर्दूमा पनि नाटक लेखेका छन्। ‘शकुन्तला’ नाटक उनले आफ्ना साथी देवशमशेरको अनुरोधमा निर्देशन पनि गरेका थिए। सो नाटक प्रधानमन्त्री वीर शमशेर ले पनि हेरेका थिए।

सन्दर्भ सामग्रीहरू

कृतिहरू

  • धेरै मन पराइएका लेखहरू