लेखनाथ पौड्याल

लेखनाथ पौड्याल (वि.सं. १९४१ – २०२२) नेपाली साहित्यका छन्द मा कविता लेख्ने कवि तथा साहित्यकार थिए। उनलाई आधुनिक नेपाली साहित्यको युगको जन्मदाता, र आध्यात्मिक पुनर्जागरण ल्याउने कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। वि.सं. २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो।

जीवनी

लेखनाथको पौड्यालको जन्म वि.सं. १९४१ पुष शुक्ल एकादशीको दिनमा बाबू दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा भएको थियो। ५ वर्षको उमेर पुगेपछि उनको घरैमा प्रारम्भिक शिक्षा सुरु गरेर दश वर्षको उमेरसम्म उनले संस्कृतको शिक्षा पाएका थिए। १५ वर्षको भए पछि उनी काठमाडौँ आए र केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर संस्कृतको अध्ययन गरे। यहाँ छदाँ उनले कविता लेख्न थाले। तीन वर्ष काठमाडौंमा पढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गएका थिए, तर उनी सफल भएका थिएनन्। बनारसमा हुँदा, उनले त्यहाँ प्रकाशित हुने विभिन्न पत्रिका जस्तै 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा नेपाली र संस्कृत भाषामा कविता प्रकाशित गरेका थिए। बनारसमा काम नपाएकोले उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगेका थिए। तर त्यहाँ पनि उनले काम नपाएपछि उनी आसामतिर लागेका थिए। उनी पछि काठमाडौं फर्किए र भीम शमशेरका नातिहरू पढाउने जागिर गर्न थाले। जागिरबाट आम्दानी हुन थाले पछि उनले काव्यहरू पनि लेख्न थाले। उनको कविताको सार सुनेर भीम शमशेरले उनलाई हजुरिया बनाएका थिए। तर जुद्धशमशेरको पालामा उनको जागिर खोसिएको थियो। वि.सं. १९६१ सालमा उनकी धर्मपत्नीको निधन भयो। वि.सं. १९६१ देखि १९७२ को बीचमा वियोग को पिडाले छप्कीवास र मुग्लानसम्म पनि पुगेका थिए। त्यसै साल १९६१ मा उनको 'कविता कल्पद्रुम' मा सङ्ग्रहित उनका दुई कविता प्रकाशित भएको थियो। १९६९मा 'लालित्य' पत्रिकामा प्रकाशित उनको कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गरेको थियो। यसपछि १९७० मा उनको 'शोक प्रवाह' शीर्षकको शोक काव्य प्रकाशित भएको थियो। यसैबीच १९७२मा उनी जोगी बन्ने मनसायले स्वर्गद्वारी पुगे। त्यहाँ उनको भेट स्वर्गद्वारी महाप्रभुसँग हुन गयो। स्वर्गद्वारी महाप्रभुले उनलाई हरेक तरिकाले सम्झाए। उनको मार्गदर्शनबाट उनले जोगी बन्ने मनसाय छाडि दिए तर उनको जीवनपद्धतिमा ठूलो परिवर्तन देखा पर्न थाल्यो। यसै बीच उनले सत्यदेवीसँग दोस्रो विवाह पनि गरे। १९७३ मा प्रकाशित 'ऋतु विचार' खण्डकाव्य र १९७३ मा नै प्रकाशित 'बुद्धि विनोद' शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो। नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुन पुग्यो। यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको 'सत्य-कलि संवाद' शीर्षकको अर्को कृति प्रकाशित भयो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। उनले अनेकौँ फुटकर कविताहरू रचना गर्न लागे। 'पिँजराको सुगा', 'काल महिमा', 'सत्य-सन्देश', 'जीवन-चङ्गा', 'गौँथलीको चिरिबिरी' आदि कविता लेखे। त्यस ताका नेपालमा राणाकालीन समय थियो, त्यसैले खुलेर साहित्य लेख्न पाइँदैनथ्यो। त्यैपनि उनले अनेक राम्रा कृति सृजना गरे। राणा शासनको अन्त्य पछि २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए। वि.सं. २०११ पुस २० गते नेपाली शिक्षा परिषदको आयोजनामा, पौड्यालकै जन्मोत्सवको उपलक्ष्यमा, उनलाई रथमा राखेर उनको शोभायात्रासहित नागरिक अभिनन्दन गरिएको थियो। यस कार्यमा छाता ओढाउने काम लक्ष्मी प्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौड्याललाई रथ रोहण गराएका थिए। लेखनाथलाई सबैभन्दा पहिला कवि-सम्राटको उपाधि लेख्ने पनि देवकोटा नै थिए। पौड्याल नेपाल एकेडेमीको पनि सदस्य पनि भएका थिए। पौड्याललाई नपढेको भनेर पढ्दै नपढेका राजा महेन्द्रले ल्याउन खोजेका थिएनन् तर लक्ष्मी प्रसाद देवकोटाको निवेदनमा उनी सदस्य भएका थिए। वि.सं. २०२० सालतिर उनको देब्रे आँखामा मोती विन्दु भएको थियो त्यसैले उनी एउटा आँखामात्र देख्थे। २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे। तर रक्सौलमा पुगेपछि उनी थला परे। त्यसपछि उनलाई रातारात नारायणगढको नारायणी नदीमा ल्याइयो। २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा चितवनको भरतपुर स्थित देवघाटमा उनको मृत्यु भएको थियो।

कृति र रचनाहरू

ऋतु विचार (खण्डकाव्य) - १९७३ वुद्धिविनोद (कविताकृति) - १९७३ सत्यकलि संवाद (कविताकृति) - १९७६ सत्यस्मृति - २००९ मेरो राम - २०११ त्याग र उदयको सन्देश - २००१ गीताञ्जली (कविताकृति) - १९८६ तरुण तपसी (नव्यकाव्य) - २०१० लक्ष्मीपूजा (नाटक) - १९९४ गौरी-गौरव (नाटक) लालित्य (कविता सङ्ग्रह भाग १, २) भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४ पञ्चतन्त्र (नेपाली अनुवाद)

पुरस्कार र सम्मान

उनलाई मरणोपरान्त वि.सं. २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको थियो। उनको स्मृतिमा नेपाल सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ।

कृतिहरू

  • धेरै मन पराइएका लेखहरू