भानुभक्त आचार्य (English: Bhanubhakta Acharya) (वि.शं.१८७१–१९२५) नेपाली लेखक, कवि, र अनुवादक थिए। उनलाई नेपाली भाषाका पहिलो कवि यानि 'आदिकवि'को रूपमा सम्मान गरिएको छ। उनले रामायण महाकाव्यलाई संस्कृतबाट नेपालीमा पहिलो पटक अनुवाद गरेका थिए। त्यस बेला रामायण अङ्ग्रेजीमा पनि अनुवाद गरिएको थिएन। भानुभक्तको जीवनी प्रथम पटक मोतीराम भट्टले लेखेका थिए।
प्रारम्भिक जीवन र शिक्षा
भानुभक्त आचार्यको जन्म २९ असार १८७१ (१३ जुलाई १८१४) मा धनञ्जय आचार्य र धर्मावती आचार्यको सन्तानको रूपमा तनहुँ जिल्लाको चुंडी रम्घा गाउँमा भएको थियो। उनले संस्कृतको प्राथमिक शिक्षा आफ्नो हजुर बुवाबाट र औपचारिक शिक्षा बनारसमा प्राप्त गरेका थिए (उस बेला बनारस एक छुट्टै देश थियो)।भानुभक्तका पूर्वजहरू
भानुभक्तका बाजे श्रीकृष्ण आचार्य तनहुँमा खुब नाम चलेका विद्वान् थिए। त्यस समयमा तनहुँका राजा त्रिविक्रम सेन (विसं १७९८-१८२६) थिए । पूर्वको गोरखामा पृथ्वीनारायण शाहको राज थियो । यसै समयमा १८१० सालतिर श्रीकृष्ण आचार्यको जन्म भएको थियो । श्रीकृष्णलाई बालक छँदा सुकेनास भन्ने रोग लागेको थियो। उनको पहिले पत्नीको नाम सत्यरूपा थियो। तर तिनबाट सन्तान नभएकोले उनले गुणानन्द पण्डितका छोरी श्रीकान्तासँग दोस्रो विवाह गरे । कान्छी पत्नीबाट धनञ्जय, काशीनाथ, पद्मनाभ, तुलसीराम, गंगा दत्त र इन्द्र विलास गरी छ जना छोरा र रूद्रप्रिया र रमा नामका दुई छोरी गरी जम्मा आठजना सन्तानको जन्म भएको थियो। यिन मध्य धनञ्जय भानुभक्तका बुबा थिए।भानुभक्तको बेलामा नेपालको साहित्य
भानुभक्तको समयमा नेपाली भाषा लगायत अरू दक्षिण एसियाली भाषाहरू मुख्यतः मौखिक माध्यममा मात्र सीमित थियो। लिखित सामाग्री एकदम थोरै हुने गर्द थियो। प्राय लिखित सामाग्रीमा संस्कृत भाषाको प्रभुत्व रहेको थियो। संस्कृत भाषा केवल पुरोहित, शिक्षक, र विद्वान्हरू माझ मात्र प्रचलनमा थियो। जबकी सामान्य मानिसहरू आफ्नो मातृभाषामा बोलचाल गर्ने गर्दथे। यानि सामान्य मानिसहरूको साहित्यिक कृतिहरूमा पहुँच थिएन। त्यस ताका रामायण संस्कृत भाषामा वाचन गरिन्थ्यो। अधिकांशले संस्कृत भाषा नबुझ्ने भएकोले भानुभक्तले रामायण महाकाव्यलाई नेपाली भाषामा अनुवाद गर्न आवश्यक थाने र सो कार्यको थालनी गरे। उनले रामायणलाई गीतको शैलीमा अनुवाद गरे। उनले अरू लेखहरू पनि लेखेका थिए। उनको लेखन सरल र धर्म-कर्मको साथै नैतिक भावनालाई बलियो बनाउने खालको थियो।जेल जीवन
उनले आफ्नो जीवनमा दुईवटा उत्कृष्ट कृति लेखे जसमध्ये एउटा रामायणको अनुवाद हो भने, अर्को उनले जेलमा रहँदा प्रधानमन्त्रीलाई पद्य रूपमा लेखेको पत्र हो। उनलाई केही कागजाती काममा गलतफहमीको कारण जेल चलान गरिएको थियो। जेलमा उनको स्वास्थ्य बिग्रियो र उनको मुद्दाको सुनुवाइ हुन ढिलो हुदै गइरहेको थियो। त्यसै क्रममा उनले प्रधानमन्त्रीलाई आफ्नो स्वन्त्रताको लागि निवेदन लेखेका थिए। उनको लेखन देखेर उनी स्वतन्त्रता मात्र भएनन्, उनले पैसाको झोला पनि पाएका थिए भन्ने गरिन्छ।जीवन परान्त
उनका काव्यहरू उनी जीवित रहदा प्रकाशन भएका थिएन। मोतीराम भट्टले उनका पाण्डुलिपि फेला पारे पछि ती सामाग्रीहरू, १८८७मा भारतको बनारसमा छापिएका थिए। सन् १९५५मा बाल कृष्ण समको नेतृत्वमा राष्ट्रिय केन्द्रले भानुभक्तलाई राष्ट्रिय विभूतिको सङ्ग्या दिएको थियो।कृतिहरू
- प्रश्नोत्तर (वि.सं. १९१० ): प्रश्नोत्तर एक आध्यात्मिक कृति हो। यसमा ४८ श्लोकहरू छन् र प्रश्न र उत्तरको शैलीमा लेखिएको छ। यो खासमा शङ्कराचार्यको 'मणिरत्न माला'को भावानुवाद हो।
- भक्तमाला (वि.सं. १९१०)
- वधूशिक्षा (वि सं १९१९): यो भानुभक्तको आफ्नै मौलिक कृति हो। प्रसङ्ग अनुसार जब भानुभक्त आफ्ना मित्र तारापति उपाध्यायको घरमा पाहुना बस्न जाँदा त्यहाँ सासू बुहारीको चर्को वात विवादबाट सुत्न नसकि, दिक्क मानी, छोरी बुहारीलाई उपदेश दिन लेखिएको थियो।
- रामायण
- फुटकर कविताहरू केही फुटकर कविताहरू रामायणको अन्ततिर प्रकाशन गरिएको थियो। जसमा 'कान्तिपुरी नगरी' जस्ता कविता रहेको छ। कृति मध्य एकले काठमाडौं उपत्यका र त्यहाँका बासिन्दाहरूको रङ्गीन, चम्किलो जीवनको प्रशंसाका रूपमा लेखेका थिए।