कहाँ थियो वास, अघी म को थिएँ,
कसो हुँदा यो पिंजरा लिंदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन,
तँलाई मालुम् छ कि यो कुरा भन ?
कदापि कत्ती नलगाइ ठक्कर,
ग्रहादिलाई दिनहुँ निरन्तर,
घुमाउने को छ खडा भईकन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
अशेष आब्रम्हा पिपि लिका-तक
शरीर एकै उहि पान्च-भौतिक,
परन्तु भाग्यादि घटीबढी किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
गुटूमुटू भैकन गर्भ जालमा
बसी कठै अन्जलि जोरि भालमा,
काराउँदा बन्धुहरु थिए कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
पिएर गीतामृत, शान्त भैकन,
कुटुम्ब-हत्या-तिर लागनू किन,
किरीटिले तत्व बुझे अहो ! कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
डटी जुत्ता कोट छडी लिईकन,
रवाफिं भै मोज मजा उडाउन,
खराब ठान्यो ऋषि-वृन्दले किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
अनन्त बाटा बटुवा छ एक यो,
विचारमा रङ्मङिदा जनम् थया,
छँदैछ शङ्का अब कृत्य हो कुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
उही कुलो खेत बिऊ सबै उही,
उसै गरी रोपिदिए पनी कहीं ?
हुँदैन धान्यादिक चैत्रमा किन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
अगाडि अध्यात्मविषे थियो जति,
थिएन कि शिल्पविषे उती मति,
बनेन होला किन रेल बेलुन,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
नयाँ कुनै दुर्विन यन्त्रको रती,
सहाय केही नलिई ग्रह-स्थिति,
अगाडिकाले कसरी बुझेहुन्,
तँलाइ मालुम् छ कि यो कुरा भन ?
म निस्कनाले जननी तिमीकन,
परेछ यो घोर अनर्थ चिन्तन,
म भित्र आएँ अब के छ लस्पस,
थपक्क बाबासित शान्त भैबस ।
Originally from: पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्य-सङ्ग्रहबाट सभार
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!