वैशाख चतुर्दशीकी चाँदनीसँग

Avatar photoलक्ष्मीप्रसाद देवकोटा
👁

हिम-स्तनी ए ! हिउँमा टेकी,
किन आकी ?
दिवस-ज्वरको ज्वलनको आगो
निभाकी !
सुधावदिनी हे ! स्वर्गकी चरी, किन
हँसिली वदन ?
प्रेमी जोडीहरुको देख्दछु,
मधुर मिलन !
यति मीठोसँग पृथिवीमा किन मुसकाकी –
हरिया हृदय, अधरमा फुस्किन,
छु सिकाकी !
भाव-ग्रन्थिका गहिरा बास्ना
रानी ! कसरी फुस्किन्छन् ?
शीतलताको ललित लतामा
एकान्त जूनमा निस्किन्छन् !
ए जूनरानी ! संसार निहार्छ्यौ।
के, के, उदेक छ ?
पागल मातले जब काढाँ सब
फूल फूल देख्छ !
स्वर्ग कहाँ छ ? मुखमा राजा !
दृष्टि कहाँ छ ? जूनमा राजा !
अमृत कहाँ छ ? दिलमा राजा !
प्यार कहाँ छ ? बेलीमा ताजा !
ए जून ! दिन के ? घाउ, घाउ ?
रात के प्यारी ? मलम, मलम ?
स्वपना, विपना, शवनम !
तरुनालाई म हुँ जवानी,
दीवानी !
अरुलाई हुँ, बिर्सिनसक्नु,
कोमल एक कहानी ।
रस केमा छ ? दुई प्यालामा ?
मधुबाला को ? रानी ! रुप !
सुन्दर कहाँ छ ? जून-गालामा ।
सृष्टिकी हुँ पीली दीप
यो के जादू ? जीवन ! जीवन !
प्रेरणा, मिलन, सुमन !
प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी !
इन्दु-किरण ! इन्दु-किरण !


कविता सहित्य

लेखकका थप सामाग्री

तपाईको बिचार

पहिलो कमेन्ट गर्नुहोस्!

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएका छन् *

*

सम्बन्धित सामाग्रीः कविता

सम्बन्धित सामाग्रीः सहित्य

  • धेरै मन पराइएका लेखहरू