वसन्त

Avatar photoलक्ष्मीप्रसाद देवकोटा
👁

क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल !
मौरी गुनगुन खग चञ्चल !
स्नायु चपल औ मुटु खलबल !
पहिला बत्ती यसरी बलेथे सृष्टिको आदि मिरमिरमा,
प्रथम लहरको फिरफिरमा !
शिवले पट्टल खोल्ने काल !
गौरी लाली लिन्छ हिमाल !
उर्वशीको प्रथम झलकमा विक्रमको झैं मुटु डल्लो,
घाउ बनीकन सूर्य अडेको, टक्क छ,
हेरन,
अस्ताचलको चुली उपल्लो !
मुनिकी आत्मा पुतली नाच्छे, मुक्त बनी, स्वर्ग भनी,
यो अवनी !
अमृत–धनी !
कुरकुर लाग्दछ ढुक्कुरलाई,
बोल्दछ सार,
संसार सबैको केशर–प्यार !
हामीहरु सब आलुबखडाहरुको लच्के हाँगाहरुको
सेता ढोकाभित्र पस्यौं
बोल्दा मुनाका कथा जगतेमा
परीहरुसँग साथ बस्यौं ।
सुगन्ध–कणी क्या बोकिरहेछन्
लहर–लहर !
दिलको कोभी फुकी–फुकी आउँछ,
छरबर पार्न
बास्ना–भुँवर !


कविता सहित्य

लेखकका थप सामाग्री

तपाईको बिचार

पहिलो कमेन्ट गर्नुहोस्!

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएका छन् *

*

सम्बन्धित सामाग्रीः कविता

सम्बन्धित सामाग्रीः सहित्य

  • धेरै मन पराइएका लेखहरू