
क्यै हारे झैं, क्यै बिर्से झैं,
को त्यो पथमा आइरहेको ?
कुक्कुर जस्तै लुरु लुरु हिंड्दै,
दुर्बलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको ?
दुइटा लठ्ठी, एउटा ढुङ्गा,
ढुङ्गा मास्तिर एउटा फर्सी
राखी, यो हो मानिस भन्दै
बालकहरुले तानि रहे झैं,
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने, झूठ अँगाल्ने,
गिर्दे तलतल म उठें भन्ने,
वातावरण नै दूषित पार्ने,
वर पर हेरी देख्न नसक्ने
कव त्यो पथमा आइरहेको ?
आकृति हो तर रुप विहीन,
भाषा हो तर भावविहीन,
मान्छे हो तर आत्माहीन,
चारैतिरको बन्द विचार-,
यो मेरो प्रतिविम्व हिंडेको ?
Originally from: शारदा‘ २००६ वैशाख
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!