घाँसी

Avatar photoलक्ष्मीप्रसाद देवकोटा
👁

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।

वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।

बिउँझी सोध्छन् युवक उज्याला,
“के गर्छौ तिमी हे घाँसी ?”
बोल्दछ घाँसी,”;सामल केही
बटुलिरहेछु”, मृदु हाँसी ।।

‘कस्तो सामल ?”बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ।।

बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ।।”

चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ।।

“ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ।।

रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।।”

चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ।।

लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
“अहो” मसीनो ध्वनिको भन्थ्यो
“यो घाँसीको जीवन हाल ।।”

बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
“फुलि-फुलि आयो छाति समेत ।।

थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर “राम”।।

“को हो ! को हो !”कोइली बोली
अस्ताचलमा रवि टप्के
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ।।

वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ।।

अमृत पिए सब भाइ
डाँडाकाँडा गुन्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ।।

गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ।।

शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ।।

भाषाको यो शैशव सुन्दर
तोते बोली बधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ।।

तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ।।

जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?

Originally from: पद्य-सङ्ग्रह


कविता सहित्य

लेखकका थप सामाग्री

तपाईको बिचार

पहिलो कमेन्ट गर्नुहोस्!

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएका छन् *

*

सम्बन्धित सामाग्रीः कविता

सम्बन्धित सामाग्रीः सहित्य

  • धेरै मन पराइएका लेखहरू